बैतडी जिल्लाको संक्षिप्त परिचय

बैतडी जिल्ला नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने चार वटा जिल्ला मध्ये एक पहाडी जिल्ला हो । विभिन्न साना ठूला पहाड ,खोच । वेशीहरुवाट निर्मित यो जिल्लाको पश्चिममा महाकाली नदीले भारतको सिमाना छुट्याएको छ र सो नदीको पारिपट्टि भारतको उत्तराखण्डको पिथौरागढ जिल्ला पर्दछ । यसको उत्तरमा दार्चुला, पूर्वमा बझाङ्ग र डोटी एवं दक्षिणमा डडेल्धुरा जिल्लाहरु पर्दछन् । यस जिल्लाको कुल क्षेत्रफल १४५१.१३ वर्ग कि.मि.छ, जुन नेपाल अधिराज्यको कुल क्षेत्रफलको ०.६८ प्रतिशत भू–भाग पर्न आउछ ।

यो जिल्ला जलश्रोत, वनजंगल, जडीवुटी र वन्यजन्तु आदि प्राकृतिक सम्पदाको दृष्टिकोणले धनि मानिन्छ । खाद्यान्न उत्पादनमा हालसम्म आत्मनिर्भर रहन नसके पनि केहि कृषिजन्य उत्पादनहरु जस्तै फलफूल, तरकारी, भटमास, घ्यू, मह आदि जिल्ला बाहिर निर्यात हुने गर्दछन् भने जिल्लामा आवश्यक पर्ने खद्यान्न वाहिरबाट आयात गरी परिपूर्ति गरिन्छ ।

यो जिल्लामा शिक्षा , स्वास्थ्य, खानेपानी, यातायात र संचार जस्ता सेवा सुविधाहरु क्रमशः विस्तार हुदै गएका छन् । जिल्लाका लगभग सम्पूर्ण गा.वि.स.हरुमा स्वास्थ्य सेवा विद्यालय, हुलाक र कृषि एवं पशु सेवा केन्द्रहरुबाट सामान्य रुपमा सेवा सुविधा उपलव्ध गराइने व्यवस्था क्रमिकरुपमा भैरहेको छ । केहि गा.वि.स. हरुमा टेलीफोन र विद्युत सेवा विस्तार भइसकेको छ र बाकि रहेका गा.वि.स.हरुमा सकेसम्म छिट्टै सेवा विस्तार गर्ने सोच रहेको छ । विकट पहाडी जिल्ला भएको हुनाले खोला नाला प्रसस्त भए पनि सिंचाई र तटलवन्ध निर्माणमा प्रभावकारिता ल्याउन सकिएको छैन । यातायातको दृष्टिकोणले यो जिल्ला अन्य पहाडी जिल्लाहरुभन्दा अगाडि नै रहेको देखिन्छ ।

जिल्लाको विकास निर्माणमा सरकारी निकायहरु लगायत दातृसंस्थाहरु र गैर सरकारी संघ संस्थाहरुबाट राम्रो सहयोग प्राप्त भैरहेको छ । हरेक ठाउं र स्थानले केहि विशेष किसिमको इतिहास वोकेको हुन्छ । सोहि अनुसार यस  जिल्लाको नाम बैतडी रहनुमा केहि ऐतिहासिक कुराहरु छन । बैतडीको वरिपरिका उच्च पहाडहरुमा चारवटा केदार देवताहरुको देवस्थल छ । ती चारवटा केदार मध्ये दक्षिणमा ग्वाल्लेक केदार, पूर्वमा रोलाकेदार, उत्तरमा देउलेक केदार र पश्चिममा ध्वजकेदार पर्दछन् । यी केदारहरु आराध्यदेव महादेवका रुप हुन भन्ने जनश्रुति छ । शक्तिशाली देवताको छत्रछाया माझ रहेको बैतडी जिल्ला हिन्दुहरुको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणहरुमा वर्णन गरेको पाइन्छ । यी चारवटै केदारहरुका देवस्थलहरुमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ । देवस्थलहरुमा बैतडी सदरमुकामवाट सहज ढंगले यात्रा गर्न सकिन्छ । हाल ग्वाल्लेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड भनिने रहेछ र त्यहां ज्यादै हावा लाग्ने गर्दछ । वढी हावा  लाग्ने भएकोले संस्कृतमा वायोत्तड पर्वत (वायु + उत्तड = वायोत्तड) अर्थात् वायु चल्ने ठाउं भन्ने अर्थमा वायोत्तडबाट अपभ्रंश हुदै वायोत्तड र बैतड भई अन्तमा बैतडी भएको हो भन्ने भनाई रहेको छ ।
नेपालको प्रशासनिक विभाजनमा ३५ जिल्ला हुदा यो जिल्ला डोटी जिल्ला अन्तर्गत पर्दथ्यो पछि ७५ जिल्ला कायम गर्दा डोटी जिल्लावाट छुट्याएर अलग गरी बैतडी जिल्लाको रुपमा स्थापित गरिएको हो । अमर शहिद दशरथ चन्दको जन्मथलो भएको हुनाले नेपालको इतिहासमा यो जिल्लाको नाम सुनौला अक्षरबाट लेखिएको छ ।

विकास क्षेत्र : सुदूरपश्चिमाञ्चल

सदरमुकाम : खलंङ्गा गढी

अञ्चल : महाकाली

जनसंख्या : २,५०,८९८ (स्रोत केन्द्रिय तथ्यांक विभागको तथ्यांक ,२०६८)

पुरुष : १,१७,४०७

महिला : १,३३,४९१

जनसंख्या वृद्धिदर : १.५८

घरधुरी : ४५१९१

औसत परिवार संख्या : ५.५५

जनघत्व : १६५ प्रति व्यक्ति वर्ग कि.मी.

साक्षरता :६२.९७ प्रतिशत
महिला : ४९ प्रतिशत
पुरुष : ७९ प्रतिशत

वर्षा : १२६.६७ मिलिमिटर

तापक्रम (सरदर) : १५.०८ देखि २४.६३ डिग्री सेल्सियस

हावापानी : समशीतोष्ण , शीतोष्ण

प्रमुख नदीनालाहरु : महाकाली, चौलानी, सुर्नया, जमाडी, गर्मा, आगरी, सेती, पेल्या,ढिकगाड, प्यानीगाड, वागागाड, कोटिलीगाड, निलगाड,कन्सनी गाड, पल्मोडीगाड आदि ।

भू–उपयोग : वन क्षेत्र : ५८,५८२ हेक्टर (३४ प्रतिशत)
चरन: १९,१९९ हेक्टर (१२.९ प्रतिशत)
कृषि: १२,४४९ हेक्टर

जातीय आधारमा जनसंख्या प्रतिशत
ब्रामण/क्षेत्री : ७८ प्रतिशत
जनजाती : २ प्रतिशत
दलित : १३ प्रतिशत
अन्य : ७ प्रतिशत

 


Skip to toolbar